काठमाडौं : जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा गत असार २३ र २४ गते ‘क्लाउड बर्ष्ट’ (आरीघोप्टे वर्षा) भएको निष्कर्ष निकालेको छ ।
विभागका मौसमविदको टोलीले स्थलगत अध्ययन, तीन स्थानका वर्षा मापन केन्द्रका उपकरण जाँच र सो दिनको वायुमण्डलको समेत अवस्था विश्लेषण गरी ‘तराई क्लाउड बर्ष्ट’ अर्थात् आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको हो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘एउटा केन्द्र (हनुमाननगर) मा एक घण्टामा १०२ मिलिमिटर वर्षा मापन भएको छ । सामान्यतया क्लाउड बर्ष्ट भन्नाले एक घण्टामा १०० मिलिमिटरसम्म वर्षा भएको मानिन्छ । त्यस अनुसार क्लाउड बर्ष्ट भएको भनेका छौं ।’
असार २३ गते बिहान ८ः४५ बजेदेखि २४ गते बिहान ८ः४५ बजेसम्मको २४ घण्टा अवधिमा दोधाराको स्वचालित वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर कूल वर्षा रेकर्ड भएको थियो । यो जल तथा मौसम विज्ञान विभागको विक्रम संवत् २००३ ९सन् १९४७० देखि उपलब्ध तथ्यांक अनुसार नेपालमा हालसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा हो ।
यसअघि २०७४ साल साउन २९ गते (सन् २०१७ अगष्ट १३) मा हेटौँडा केन्द्रमा सबैभन्दा धेरै ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो । यसैगरी भूसंरक्षण विभागको तथ्यांक अनुसार २०५० साल साउन ५ गते (सन् १९९३ जुलाई २०) मा मकवानपुरको टिस्टुङमा ५४० मिलिमिटर वर्षा मापन भएको थियो । त्यसको ३१ वर्षपछि कञ्चनपु्रमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको हो ।
सो दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भए तापनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो ।
साथै उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय थियो । अरब सागर र बंगालको खाडी दुबैबाट आउने जलवाष्पयुक्त हावा पनि सोही स्थानमा मिसिएको र माथिल्लो वायुमण्डलमा मेघगर्जनसहित आरीघोप्टे वर्षा भएको मौसमविदहरुको निष्कर्ष छ ।
जल तथा मौसम विज्ञान विभागले असार २४ गते नै कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको जानकारी दिएको थियो । तर त्यो आरीघोप्टे (क्लाउड बर्ष्ट) भनेर घोषणा भने गरेको थिएन । त्यसको एक महिनापछि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विभागले क्लाउड बर्ष्ट घोषणा गरेको हो ।
अध्ययन प्रतिवेदनमा के छ ?
कहिलेकाहीँ वर्षा मापन केन्द्रमा जडान गरिएका उपकरणमा समस्या आउँदा तथ्यांकमा कैफियत हुने भएकाले उपकरणको जाँच गर्ने र त्यतिबेलाको अवस्था बुझ्न भनेर विभागको विज्ञ टोली असार २७ गते कञ्चनपुर प्रस्थान गरेको थियो ।
स्थलगत अध्ययन टोलीको नेतृत्व जल तथा मौसम विज्ञान विभागको उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन शाखा प्रमुख एवम् वरिष्ठ मौसमविद डा.इन्दिरा कँडेलले गरेकी थिइन् । टोलीमा अर्की वरिष्ठ मौसमविद शान्ति कँडेल, मौसमविद सुदर्शन हुमागाईं, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका हाइड्रोलोजिष्ट सञ्जय कुमार साह र पूर्वानुमानमा आधारित विपद पूर्वतयारी तथा प्रतिकार्य विज्ञ दिनानाथ भण्डारी सहभागी थिए । सोही टोलीले कञ्चनपुरका दोधारा चाँदनी र भीमदत्तनगर पालिका क्षेत्रमा आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको हो ।
टोलीले कञ्चनपुरका दोधारा, सुन्दरपुर, हनुमाननगर हावापानी केन्द्रका साथै कैलालीको धनगढी विमानस्थलका उपकरणको समेत जाँच गर्दै प्रहरी प्रशासनका अधिकारी र स्थानीयबासीहरुसँग समेत छलफल गरेका थिए । दोधारा र हनुमाननगरका स्वचालित वर्षा मापन उपकरणले ठिक तथ्यांक देखाए पनि सुन्दरपुर वर्षा मापन केन्द्रको उपकरणले वास्तविक वर्षा भन्दा कम मापन गरेको पाइएको छ ।
विभागको मापदण्ड अनुसार २५० मिलिमिटर प्रतिघण्टा वर्षामा दुई प्रतिशतसम्मको त्रुटि स्वीकार गर्न सकिन्छ । दोधारा केन्द्रमा जडित स्वचालित वर्षा मापन उपकरणको औसत त्रुटि ०.५ प्रतिशत मात्र पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसैले २०८० फागुन १२ गतेमात्र जडान गरिएको दोधाराको स्वचालित वर्षा मापन केन्द्रको अवस्था ठिक रहेको निष्कर्ष विभागको छ ।
तर मानव सन्चालित उपकरणमा ४२९.४ मिलिमिटर वर्षा मापन भएको थियो । मानव सन्चालित उपकरणको क्षमताभन्दा बढी वर्षा भएर सिलिण्डरबाट बाहिर पानी पोखिएर खेर गएकाले यथार्थ मापन भने हुन सकेको छैन ।
अध्ययन टोलीको नेतृत्व गरेकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले दोधारा र हनुमाननगर (स्थानीय नाम भम्का)का वर्षा मापक केद्रका उपकरणहरु चुस्त दुरुस्त अवस्थामा रहेको र तथ्यांक सही भएको बताइन् ।
‘अन्य अवस्था सामान्य रहे कञ्चनपुरका दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा भएको वर्षा आरीघोप्टे नै हो भन्ने ९९ प्रतिशत ढुक्क थियौं । तर कहिलेकाहीँ प्राविधिक समस्याले तथ्यांक गलत हुन सक्ने सम्भावना पनि हुने भएकाले स्थलगत अध्ययन गरेका थियौं,’ डा.कँडेलले भनिन्, ‘अध्ययनपछि क्लाउड बर्ष्ट नै हो भन्ने निष्कर्ष निकाल्यौं ।’