काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एसपी (कार्यालय प्रमुख) ओम खड्का विवादमा तानिएका छन्।
बाँकेको जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेको भन्दै विवादमा मुछिएको हो। जसबाट बाँकेका स्थानीयदेखि प्रहरीसम्म हैरान भएको बताइएको छ।
खड्काले सूचनाको लागि खटाउनुपर्ने सूचकलाई पैसा उठाउनमा परिचालन गरेको आरोप छ। जसका लागि उनले हवल्दार गोविन्दजंग शाह, बुद्धिप्रसाद शर्मा र उदय अधिकारी लगायतको टोली बनाएको बताइन्छ। उनले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप लागेको हो।
उनीहरूले आरा मिल, इँटाभट्टा, रेस्टुरेन्ट, अवैध धन्दाका व्यापारी, क्रसर लगायतबाट असुली गर्ने गर्दछ्न्।
उनीहरूले तस्कर, हुण्डी कारोबारीसित पनि हात मिलाएर पैसा उठाउने गरेको स्रोतको दाबी छ। केही समय अगाडी सोही टोलीका एकजनाले नेपालगञ्ज उपमहानगरपालिका–११ जमुनाहा नाकाको भन्सार नजिकै कुटाई पनि खाएका थिए।
उनले क्यासिनोका लागि ल्याइएको रकम बरामद गर्दा कुटाई खाएका थिए। त्यसपछि सो कुरा प्रहरीमा गएर मुद्दा मामिला हुँदै मिलेको थियो।