काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनको सुविधा दिने सुझावसहित प्रतिवेदन तयार भएको छ ।
गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन हुने सुविधा दिनुपर्ने उल्लेख गरेपछि यसबारे गृहकार्य अघि बढाइएको हो ।
कार्यदलले यसअघि प्रहरी प्रधान कार्यालयले माग गर्दै आएको १६ वर्षमै पेन्सनको व्यवस्थालाई प्रतिवेदनमा समेट्दै गृहमन्त्री रमेश लेखकलाई १७ साउनमा प्रतिवेदन बुझाएको थियो । अब बन्ने संघीय प्रहरी ऐनमा यी विषय समेट्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।
कार्यदलका संयोजक तथा सहसचिव आचार्यले १६ वर्षमै पेन्सन सुविधा दिनुपर्ने विषय समेटेर प्रतिवेदन बुझाएको बताए । उनका अनुसार १६ वर्षदेखि अहिले कायम रहेको २० वर्षमा पेन्सन हुने विषय प्रतिवेदनमा समेटिएका छन् ।
मन्त्री लेखकलाई बुझाएको १४८ पृष्ठ लामो प्रतिवेदनमा प्रहरी कर्मचारीलाई तीन वर्गमा राखेर पेन्सनको सुविधा दिनुपर्ने सुझाव दिइएको छ । जसमा १६, १८ र २० वर्षमा पेन्सन हुने बारे सुझाव दिइएको छ ।