धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेकी साइपाल शिक्षा सदनमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी जानकारी दिइएको छ। विद्यालयले बिहीबार कक्षा ७ देखि १० सम्माका छात्र–छात्राहरूलाई साइबर अपराध सम्बन्धी जानकारी दिएको हो।
बालबालिका तथा किशोर–किशोरी साइबर अपराधको जोखिममा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीसँगको सहकार्यमा कार्यक्रम गरिएको शिक्षक नवराज जोशीले बताए।
सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग रोक्न र विद्यार्थीहरूलाई सम्भावित दुर्घटनाबाट बच्ने उपाय बताउन साइबर अपराध सम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको शिक्षक जोशीले बताए।
कम उमेरका बालबालिका तथा किशोर–किशोरी साइबर अपराधको जोखिमका रहेकाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर मल्ल र हवल्दार दिनेश ढांँटले सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे विद्यार्थीहरूलाई जानकारी दिएका हुन्।