काठमाडौं: हिजो बिहान तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका मृतकहरुको शव भारत लगिएको छ। आज अपरान्ह भरतपुर विमानस्थलबाट भारतीय वायुसेनाको विमानमा राखेर मृतक २७ मध्ये २५ को शव मुम्बई लगिएको छ।
भरतपुर अस्पतालमा पोस्टमार्टम सकाएपछि भारतीय वायुसेनाको कल साइन केसी ३८१० विमान हिजो दुर्घटनामा मृत्यु भएका भारतीयहरुको शव बोकेर ५ बजे मुम्बइतर्फ प्रस्थान गरेको बताइन्छ।
शव बुझ्न भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से चितवन पुगेकी हुन्। उक्त विमानबाटै राज्यमन्त्री खड्से पनि मुम्बइ फर्किएकी छन्। बाँकी दुई वटा शव स्थलमार्गबाट सुनौली नाका हुँदै गोरखपुर लगिएको छ।
दुर्घटनाका घाइते १६ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बिहान काठमाडौं आइपुगेपछि भारतीय राज्यमन्त्रीले घाइतेहरुलाई अस्पतालमा भेटेकी थिइन्।
Facebook Comments Box