धनगढीः हिजो राति धनगढीमा ट्राफिक प्रहरी र एक पत्रकारबीच विवाद भएको घटनापछि प्रहरी विवादमा तानिएको छ। विवाद भएको भन्दै ट्राफिक प्रहरीले पत्रकारलाई हतकडी लगाएर थुनामा पठाएपछि प्रहरी विवादमा तानिएको हो।
सवारी चालकसँग कागजात भए/नभएको हेर्ने र कैफियत देखिएमा जरिमाना काट्ने अधिकार पाएको ट्राफिक प्रहरीले व्यक्तिगत रिसिइबी साध्न हतकडी लगाएर हिरासतमा पठाएको आरोप लागेको छ। शुक्रवार राति करिब ९ बजेको समयमा धनगढीका पत्रकार रमेश अयडीलाई प्रहरीले थुनेको थियो।
ट्राफिक प्रहरी हवलदार विजय बमले अयडीसहित अर्का एक जना युवकसँग विवाद भएपछि हतकडी लगाएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाएका थिए।बमले शुक्रवार साँझ कागजपत्र नभएको भन्दै पत्रकारलाई हतकडी लगाएर जिल्ला प्रहरीको हिरासतमा पठाएका थिए।
तर राति नै उनलाई प्रहरीले छाडेको थियो। ट्राफिक नियम उलंघन गरेका पत्रकार अयडीलाई नियन्त्रणमा नै लिनु प्रहरीको कमजोरी भएको बताइएको छ भने हवलदार बमले आफ्नो कुनै रिसिइबी नभएको जनाए।