काठमाडौं : नेपाल प्रहरीमा तत्कालका लागि ३० वर्षे सेवाहद कार्यान्वयन रोकिएको छ ।
सेवाहदको प्रावधान रहेको सशस्त्र प्रहरी बलमा पनि यसको तरंग पुगेको छ । सशस्त्र प्रहरीमा पनि आगामी १६ भदौदेखि दुई डिआइजीसहित १७ सिनियर अधिकृतले अवकाश पाउँदैछन् ।
डिआइजीहरु अभिकुमार खत्री, दुर्गा भट्टराई, एसएसपी विश्व भट्टराई, एसपी हर्क साउद लगायतले अवकाश पाउदैछन् । उनीहरु २०५१ सालमा नेपाल प्रहरीमा असइमा भर्ना भई पछि सशस्त्रमा स्थानान्तरण भएका अधिकृतहरु हुन् ।
नियमावलीमा मात्र सेवाहदको प्रावधान रहेको र ऐनमा नै यसलाई समेट्न विगतमा दिइएका निर्देशनात्मक आदेश कार्यान्वायन नगरेको भन्दै नेपाल प्रहरीमा सर्वोच्च अदालतले तत्काल सेवाहदका आधारमा अवकाश नदिन भनेको छ ।
जसकारण नेपाल प्रहरीका करिब एक सय अधिकृतको जागिर लम्बिएको छ । सशस्त्र प्रहरीका केही अधिकृत पनि कानून परामर्शमा लागेका छन् ।
यसको पूर्ण सुनुवाई १० असोजदेखि सुरु हुनेछ । अन्तरिम आदेश दिएको मुद्दामा सामान्यतया अन्तिम फैसलामा कमै उल्टिएका छन् ।
जसकारण प्रहरीमा अब सेवाहद हट्ने सम्भावना छ । यद्यपी ३० वर्षे सेवाहद हट्दा घाटा हुने प्रहरी टोलीहरु त्यसविरुद्ध दौडधुपमा लागिसकेका छन् । पूर्वप्रहरी अधिकारीहरुले भने अदालतको फैसलाको स्वागत गरेका छन् ।
३० वर्षे सेवाहदको नेपाल प्रहरीमा सकारात्मक प्रभाव पर्ने धेरैको टिप्पणी छ । तर, सशस्त्रमा भने अहिले नै बढुवाको जाम अवस्था रहेकोले ३० वर्षे सेवाहद तत्काल हटाउँदा झन् समस्या हुने जोखिम छ ।
गृह मन्त्रालयको एक अध्ययन कार्यदलले नेपाल प्रहरीमा तत्काल र सशस्त्र प्रहरीमा २०८५ देखि सेवाहद हटाउन सिफारिस गरेको छ ।
अब अदालतको पूर्ण फैसला आएपछि गृह मन्त्रालयले ऐनमार्फत सेवाहदबारे प्रष्ट प्रावधान राख्ने तयारी गरेको छ ।