काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएको कार्यक्रमलाई बिथोलेको आरोपमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ।
सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा हिजो काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। प्रधानमन्त्री ओली र सभापति देउवाले संयुक्त रुपमा दमाहा बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए।
तर, कार्यक्रममा सहभागी युवाहरुको भीडले एक्कासी प्रधानमन्त्री र सभापतिविरुद्ध चर्का नाराबाजी गर्न थाले । उनीहरुले ‘केपी चोर, देश छोड’, ‘देउवा, मुर्दावाद’ लगायत नारा लगाए।
नाराबाजीबीच सम्बोधन गरेका सभापति देउवाले पनि मञ्चबाटै कार्यक्रम बिथोल्नेहरुलाई तह लगाउने बताए। उहाँले रिसाउँदै भनेका थिए, ‘अर्काको कार्यक्रम बिथोल्नेलाई लाज छैन ? बदमासहरू ! न गौरा खेल्न दिन्छन्। यस्तो अर्काको कार्यक्रम बिथोलेर बसेका छन्। यहाँ को–को त्यस्ता छन्, तिनीहरुलाई ठीक पार्नुपर्छ !’
कार्यक्रम बिथोलेको आरोपमा काठमाडौँ प्रहरी परिसरले आज दुई युवकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुमाथि सोधपुछ भइरहेको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। उनीहरुको परिचय खुलाइएको छैन।