काठमाडौं: नेपालगञ्जको सडकमा करोडौँको सुनचाँदीको व्यापार गरेको भन्दै प्रहरीले चार जनालाई समातेको छ। नेपालगञ्ज उपमहानगरपालिका–११, बीपी चोक आसपासको क्षेत्रमा सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनापछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले प्रदेश ०३०१–०२४ च ६७६३ नम्बरको कारबाट सुनचाँदी फेला पारेको जानकारी दिएको छ। प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–११, बस्ने २१ वर्षीय राहुल सोनार, राप्तीसोनारी गाउँपालिका–४, का २४ वर्षीय ओमजंग चौधरी, बर्दियाको राजापुर नगरपालिका–८, बस्ने ४० वर्षीय नेपाली थारु र सोही नगरपालिका–४, का ४२ वर्षीय निमप्रकाश सुनारलाई कारसहित नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार त्यतिबेला नेपाली, राहुल र निमप्रकाशलाई सुनसहित नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको क्रममा नेपालगञ्ज–२, स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुन चाँदी रिफाइन कारखानामा प्रहरी पुगेर खानतलास गर्दा अवैध सुनचाँदी भेटिएको हो। प्रहरीले त्यहाँबाट ओमजंगलाई पक्रेको थियो।
प्रहरीले ४०७ ग्राम सुन, १० केजी ६१३ ग्राम चाँदी बरामद गरेको छ। बरामद सुनचाँदीको मूल्य करिब एक करोड पाँच लाख ३३ हजार रहेको प्रहरी अनुमान छ। पक्राउ परेका चारै जनासहित बरामद सामानलाई थप अनुसन्धानका निम्ति राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको छ।