डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेर निस्कासनमा परेका नेता कर्ण मल्लमाथि खनिएका छन् । सोमबार गृहपालिकाको गन्यापधुरा–२ बडालमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मल्लप्रति आक्रोश व्यक्त गरेका हुन् ।
उनले मल्ल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोपसमेत लगाए । ‘मल्ललाई आफूपछि नेता बनाउँला सोचेको थिएँ,’ उनले भने, ‘अहिले सोही व्यक्ति ओलीको चाकरीमा लागेको छ ।’ उनले मल्लको क्रियाकलापले आफूलाई लाज लागेको टिप्पणी गरे ।
नेपाली कांग्रेसले मल्ललाई पार्टीको विधानविपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको थियो । डडेल्धुरामा मल्ल समूह नेपाली कांग्रेस बिपीमा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेको छ ।
देउवा र मल्लको गृह पालिका एकै गन्यापधुरा हो । गन्यापधुरामासमेत एमालेसँग तालमेल गर्दै मल्ल समूहले अध्यक्ष लिएको छ ।