धनगढी: अछामको एक समामुदायिक वनमा पुरुष मृत अवस्थामा भेटिएका छन्। जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका भबिलाल घर्तिमगर मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार साँझ रोल्पा नगरपालिका-३ सातदोबाटो स्थायी घर भएका ४० वर्षीय घर्तिमगरको शव विन्द्रावन सामुदायिक वनमा भेटिएको थियो।
घर्तिमगर सम्पर्कविहीन भएपछि उदयपुर निवासी तथा उनीसँगै काम गर्ने कोडिनेटर पौरख बस्नेतले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीलाई सूचना प्राप्त भएलगत्तै, प्रहरी सहायक निरीक्षक रमेश कुमार नाथको कमाण्डमा तीन जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। उनको शव पाँच दिनपछि आइतबार साँझ भेटिएको बताइएको छ।
अनुसन्धानका लागि साँफेबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र सिंह साउँदको कमाण्डमा थप पाँच जनाको टोली पनि घटनास्थलतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ।
लगातारको वर्षा र दुर्गम भिरपाखाका कारण टोली सोमबार बिहान ७ः३० बजे मात्रै घटनास्थलमा पुगेको थियो। घटनास्थलमा पुगेपछि टोलीले भबिलाल घर्तिमगरलाई सोही वनको भिरमा मृत अवस्थामा फेला पारेको थियो।
शवको पहिचानपछि, प्रहरीद्वारा घटनास्थलको मुचुल्का तयार पारेर शवलाई परीक्षणका लागि जिल्ला अस्पताल अछाम पठाइएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै आफन्तलाई खबर गर्ने कार्य पनि भइरहेको अछाम प्रहरीले जनाएको छ।
यस्तै डडेल्धुरामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ।
जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर विष्टको मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले जानकारी दिए।
विष्ट आइतबार बाख्रा चराउन स्थानीय धरमपानी सामुदायीक वनमा गएका थिए। तर, साँझ बाख्रा मात्रै घर आएपछि स्थानीयले विष्टको खोजी सुरू गरेका थिए।
उनी आज बिहान सोही जंगलमा मृत फेला परेको वडाध्यक्ष भाटले बताए।