काठमाडौं: गृहमन्त्री रमेश लेखकले विल्लादार जवान, आधारभूत तहका प्रहरीलाई १६ वर्ष र जुनियर अधिकृतलाई १८ वर्षको पेन्सन दिइने बताएका छन्।
सोमबार सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामाथिको छलफलमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
सशस्त्र प्रहरी बलले पेश गरेको बिधेयकको मस्यौदामा तल्लो तहका प्रहरीलाई १६ र १८ वर्ष सेवा अवधिमा पेन्सन दिने प्रावधान ठिक गरेको बताए।
गृहमन्त्री रमेश लेखकले सय दिनभित्र बिधेयक संसदमा पुर्याउने लक्ष्य रहेकोसमेत बताए । समाजको गति अनुसार कानुनमा पनि संशोधन भइरहने गृहमन्त्री लेखकको भनाई छ।
आर्थिक भार पनि नबढ्ने र सेवामा अकर्षण पनि बढ्छ कि भनेर उमेर हद बढाउने र पेन्सनको अवधि घटाउने विषय विधेयकमा राखेको उनले बताए।
विधेयकलाई भदौ २१ गते गृहमन्त्रालयबाट निर्णय गरेर अर्थ मन्त्रालयमा पठाउने तयारी रहेको गृहमन्त्री लेखकले बताए।
उमेर र पदावधिमा गरिएको घट–बढ र स्वेच्छिक अवकाशको व्यवस्थामा गरिएको परिवर्तनले पर्ने आर्थिक भार र हुने लाभ दुबैलाई हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको कानुनमा प्रस्टता नहुँदा मुद्दा अदालतमा पुगेको भन्दै सरकार र सुरक्षा निकायबिच कानुनी विवाद देखिएको गृहमन्त्री लेखकको भनाई छ।