धनगढी: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले क्याम्पसका जुनियर असिस्टेन्ट देवराज वनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले जनाएको छ। देवराजले २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा शुरु नियुक्ति लिएका थिए।
त्यसपछि २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति हुन भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको प्रमाणपत्र पेश गरेका थिए।
अख्तियारका अनुसार उनले झुट्टा प्रमाण–पत्र पेश गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि हुन आएको छ।
उनले भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको झुट्टा प्रमाणपत्र पेशगरी सरकारी सेवामा प्रवेश गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
देवराजविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले बताए।