काठमाडौं: प्रधानमन्त्री केपी ओली अभिव्यक्ति स्वतन्त्रताप्रति निरंकुश बन्दै गएका छन्। आफूलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई प्रहरी लगाएर उनले पक्राउ मात्र गराएनन्, विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको खुलेको छ।
ओलीलाई ‘भ्रष्टाचारका महादेव’ भनेको आरोपमा प्रहरीले बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध साइबर अपराध मुद्दा चलाएको हो।
रावलले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू, भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए। त्यसविरुद्ध अजितकुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो।
गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत, काठमाडौंको आदेशमा धरौटीमा छुटेका छन्। रावल सिन्धुपाल्चोकको बाह्रबिसेस्थित किस्टोन अस्पतालका कर्मचारी हुन्। बाह्रबिसे प्रहरीले उनलाई पक्राउ गरी साइबर ब्युरोलाई बुझाएकोमा ब्युरोले सोमबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो।