धनगढी: नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले आफू निर्मला पन्त हत्या प्रकरणलाई लिएर गम्भीर बनेको बताएका छन्। आज (बिहीबार) महेन्द्रनगर आयोजित एक पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
उनले सो प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि बताए। पत्रकार सम्मेलनमा बोल्दै उनले सो विषय गम्भीर भएको जनाए।
“यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने। त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने पनि बताए।
यस अगाडि निर्मला प्रकरणमा खासै बोल्नै नचाहेका लेखकले चर्को आलोचना भएपछि आफू अनुसन्धानका लागि गम्भीर बनेको बताएका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो। घटना भएको ६ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन।