दार्चुला : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलास्थित असिगाडामा निर्माणाधीन नेपाल–भारत जोड्ने मोटरेबल पुलको निरीक्षण गरेका छन्। दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका–८ असिगाडामा र भारत पिथौरागढ जिल्लाको छारछुम जोड्ने मोटरेवल पुलको राजदूत श्रीवास्तवले स्थलगत निरीक्षण गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा टनकपुरपछि दार्चुलामा भारतसित दोस्रो पुल निर्माण भईरहेको छ। भारतसितको सीमामा पहाडी जिल्लामा भने पहिलो मोटरेबल पुल हो। पुल निरीक्षणका क्रममा राजदूत श्रीस्तावले जति सक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
पुलको दुईटै साईडमा ट्राफिक जाँचमा समस्या आउने गरी संरचना र पहुँच मार्ग निर्माण गर्न दुवै देशका प्राविधिकको समन्वय हुनुपर्ने बताएका छन्। भारतीय पक्षले निर्माण गरिरहेको एक सय १० मिटर लामो मोटरेवल पुलको काम धमाधम भइरहेको निर्माण कम्पनीले जनाएको छ।
पुल भारतीय कम्पनी पीएण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको छ। ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण थालिएको हो। पुल निर्माण सम्पन्न भएपछि सरकारी र नागरिकस्तरमा दुई देशको सम्बन्ध थप बलियो हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने स्थानीयले बताएका छन् ।
जिल्लामै पहिलो पटक महाकाली नदीमा पक्की पुल निर्माणले स्थानीयवासी खुशी भएका छन्। द्विपक्षीय निर्माण सम्झौतानुसार यो पुलको निर्माण कार्य यसै वर्ष सकिनुपर्ने हो।