काठमाडौँ: सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ जनाको नामसहितको रोष्टर न्याय परिषद्ले संवैधानिक परिषद्मा पठाएको छ। वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अनिवार्य अवकाश पाउने भएकाले नयाँ प्रधानन्यायाधीशको नाम छलफल र सिफारिसका लागि पठाइएको न्याय परिषद् स्रोतले जानकारी दिएको हो ।
श्रेष्ठ अहिले सर्वोच्चको इजलासमा बसेका छैनन्। उनी प्रशासनिक काम र फैसला लेखन मात्र गरिरहेका छन्।
संविधानको धारा १२९ मा नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता सम्बन्धी व्यवस्था रहेको छ। उक्त व्यवस्थाको उपधारा २ अनुसार प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसका आधारमा संवैधानिक परिषद्को सिफारिस अनुसार सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।
त्यसै गरी, उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने उल्लेख छ। उक्त उपधारा अनुसार नै तीन वर्ष अवधि पुगेका सबैको नाम परिषद्ले पठाएको हो।
सर्वोच्चको प्रधानन्यायाधीशको पदावधि छ वर्षको हुनेछ तर उमेर हदका कारण अवकाश पाउँदै छिटै प्रधानन्यायाधीश परिवर्तन हुने गरेको छ।
परिषद्ले भावी प्रधानन्यायाधीशको रोल क्रममा रहेका प्रकाशमान सिंह राउतको नाम पहिलो नम्बरमा राखेर पठाएको छ। उनी हालका वरिष्ठ न्यायाधीश हुन्।
उनीपछि रहेका न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको हो।
परिषद्ले रोष्टर पठाएपछि अब संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिसको प्रक्रिया सुरु गर्ने छ। प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्ले न्याय परिषद्ले रोष्टरका व्यक्तिहरूको नाममा छलफलका लागि बैठक बोलाउने छ।