धनगढीः महाकाली नदीमा २ किशोर बगेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका हुन्।
महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाले बताए।
उनका अनुसार आज दिउँसो भीमदत्त नगरपालिका–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही स्थानका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन्।
बगेकामध्ये सौरभको शव फेला परेको छ। दोधारा–चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन्।
यस्तै कैलालीको धनगढीमा नदीमा डुबेर अर्का एक जना बेपत्ता भएका छन्।
धनगढी उपमहानगरपालिका–९ बनकट्टी घाटमा मोहना नदी तर्नेक्रममा एक जना डुबेर बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१० का अन्दाजी २७ वर्षीय विशाल राना डुबेर बेपत्ता भएका हुन्।
अहिले घटनास्थलमा प्रहरी टोली खटिएर खोजीकार्य गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।