धनगढी ः नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले भीमबहादुर रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भईरहेको बताएका छन्। एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममा बोल्दै ईञ्चार्ज भट्टले यस्तो बताएका हुन्।
‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो। तर उहाँ तलतल आउनुभयो। जस कारण सुदूरपश्चिममा पार्टीभीत्र समस्या देखियो,’ ईञ्चार्ज भट्टले भने। रावल हरेकपटक सुदूरपश्चिम आएर एमालेमै रहेका तर आफ्नो नजिक रहेकाहरुको गुट बनाउदै हिडेको उनको आरोप छ।
यस्तै रावलको बढी उठबस सुदूरपश्चिमका नेकपा एकीकृत समाजवादीका नेताहरुसँग भएको भट्टले बताए। शुक्रबारमात्रै टीकापुरमा रहेका रावललाई त्यहाँका एमाले र एकीकृत समाजवादीका नेताहरुले नयाँ पार्टी खोल्न दबाब दिएको खबरहरु सार्वजनिक भएको उनको दाबी छ।
‘जुन जिल्लामा गएपनि उनको गुटको भेला हुने, नेता कार्यकर्ताहरुलाई भडकाउने कार्यहरु भएका छन्। उहाँको समस्या पार्टी नेतृत्वसँग हो भने उहाँले नेतृत्वसँगै गएर समस्या समाधान गर्नुपर्छ। तल तल आएर गतिबिधि गर्न थालेपनि पार्टी विग्रीन थालेको छ,’ ईञ्चार्ज भट्टले भने।
उनले पार्टीले ‘मिशन ८४’ भन्ने नारा ल्याएपनि पार्टीभित्रको आन्तरिक एकता यस्तै रह्यो भने उक्त मिशन सफल नहुने बताए।
कार्यक्रममा नेकपा एमाले सल्लाहकार परिषदका अध्यक्ष अमृत बोहराले पनि सल्लाहकार परिषदलाई कार्यकारी अधिकार नभएपनि, यो कमिटि भनेको पार्टीको जीवन भएको बताए।
कार्यक्रम नेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहकार परिषदका अध्यक्ष खेमराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने ईञ्चाज लेखराज भट्टले सल्लाहकार परिषदका सदस्यहरुलाई सपथ खुवाएका थिए।