मोरङ – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । यो योजना निर्वाचन अघि र निर्वाचन पछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सुरक्षा योजनाअनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीनवटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी गरी १३ हजार ६७ जना जनशक्ति परिचालन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
O
विशेष अवस्थामा सुनसरीको इटहरीबाट हेलिकप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको प्रजिअ दाहालले बताए ।
यसैगरी, सोही सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि वैशाख ३० गतेको राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न मोरङ जिल्लासँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रजिअ दाहालले एक सूचनामार्फत बताए । ३० गते चुनाबको दिन नाकाबाट एम्बुलेन्स र दमक बाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरेको जनाइएको छ ।
यस्तै, सोही सन्दर्भमा जिल्लामा मादकपदार्थ बिक्री वितरण एवं सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई प्रभावित हुन नदिन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ), गृह मन्त्रालय निर्वाचन सेलको आदेश बमोजिम सो व्यवस्था गरिएको हो ।
आज राति १२ बजेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लेखित क्रियाकलाप नगरी, आदेशको पालना गरी सहयोग गर्न हुन सबैलाई अपिल गरिएको छ । यो आदेश बर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रजिअ दाहालले सूचनामार्फत जनाइएको छ ।
कार्यालयका अनुसार मोरङमा दर्ता भएका कूल राजनीतिक दलको सङ्ख्या ३९ छन् । तर, उम्मेदवारी फिर्तालगायतका कारण हाल निर्वाचनमा २२ वटा दल सहभागी छन् । मोरङमा कूल मतदाता सङ्ख्या सात लाख १५ हजार २२३ रहेको छ ।