धनगढीः भारतको बेङ्लुरुमा नेपाली युवती महालक्ष्मीको क्रूर हत्याको आरोप लागेका एक व्यक्ति मृत भेटिएका छन्। मुक्ति रञ्जन राय नाम गरेका ती व्यक्ति भारतको उडिसामा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीले ती व्यक्तिको सुसाइड नोट फेला पारेको छ। जसमा उनले नेपाली युवती महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन्।
साथै उनले महालक्ष्मीको हत्या गरेर गलत गरेको पनि आफ्नो सुसाइड नोटमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बेङ्लुरुस्थित एक भाडाको कोठामा नेपाली युवती महालक्ष्मीको शव ३० देखि ४० टुक्रा पारिएको अवस्थामा फेला परेको थियो।
निकै अमानवीय र क्रूर ढंगले महालक्ष्मीको हत्या भएको घटना विवरणहरूले देखाएका छन् । भारतीय सञ्चारमाध्यहरूका अनुसार बेङ्लुरुको तीन तले भवनको एक कोठामा रहेको फ्रिजमा १९ दिनसम्म एक २९ वर्षीया युवतीको शव ३० देखि ४० टुक्रा पारेर राखिएको प्रहरीले फेला पारेको छ। सो कोठाबाट गन्ध आउन थालेपछि घरमालिकले प्रहरी र युवतीकी आमालाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी क्राइम सिन देखेर अत्तालियो । किनकि प्रहरीले यसअघि यस्तो क्राइम सिन देखेकै थिएन।
प्रहरी पहिलोपटकमा कोठामा प्रवेश नै गर्न सकेन। किनकि गन्ध निकै आइरहेको थियो। डब्बल मास्क लगाएर कोठामा पुगेको प्रहरीले फ्रिज र फ्रिजबाहिर शवका टुक्राहरू देख्यो। र, उसले फरेन्सिकको टोलीलाई बोलायो। तर, फरेन्सिकको टोलीले पनि शव संकलन गर्न नसकी अस्पतालको मुर्दाघरका कर्मचारीलाई बोलाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
डडेल्धुराबाट भारत गएको थियो महालक्ष्मीको परिवार
महालक्ष्मीको पुर्खेउली घर भनेको डडेल्धुरा भएको उनका भाई हुकुमसिंह रानाले बताएका छन् । उनी आलिताल गाउँपालिका वडा नम्बर ४ लामजिल्ले घर भएका करनसिंह रानाकी कान्छी छोरी हुन् । हुकुमका अनुसार उनको परिवार ६० वर्षदेखि भारचमा बस्दै आएको छ ।
सानैमा महालक्ष्मीका बुवा करनसिंह राना रोजगारीका लागि भारत गएको बुझिएको छ । उनले डडेल्धुराबाटै विवाह गरेर भारतको बेङलुरुमा बस्दै आएको आलिताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमलसिंह बोहराले बताए । उनको नेपालको थर भने कामी हो । महालक्ष्मीको जन्म भने भारतमै भएको हो ।