धनगढीः नेकपा एमालेका शीर्ष तथा केन्द्रीय तहका नेताहरु पछिल्लो समय सुदूरपश्चिम केन्द्रित भएका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा निस्केपछि अन्य नेताहरु सुदूरपश्चिम दौडाहामा छन्।
अस्तिमात्रै धनगढीमा महासचिव शंकर पोखरेल सहितको टोली एक कार्यक्रममा लागि पुगेको थियो। सो टोलीमा अन्य नेताहरू पनि थिए। पार्टीले सुदूरपश्चिममा आफ्ना गतिविधि पनि थप बढाएको पाइएको छ।
एमाले प्रदेश सचिव रणबहादुर चन्दले पार्टी चलायमान बनाउन र थप व्यवस्थित तवरले पार्टी सञ्चालनका लागि विभिन्न कार्यक्रमहरु विभिन्न समयमा गरिरहेको जनाए।
यस्तै, एमालेका अर्का शिर्ष नेता प्रदीप ज्ञवाली पनि सुदूरपश्चिममै रहेको एक नेताले बताए। उनी एक कार्यक्रमका लागि बाजुरा गएकोमा उतै बसिरहेको बताइएको छ। यस्तै अर्का नेता महेश बस्नेत राष्ट्रिय युवा संघ नेपालको दार्चुला अधिवेशनको लागि सुदूरपश्चिम आएकोमा अहिले कैलालीमा छन्। आज कैलालीको टीकापुरमा राष्ट्रिय युवा संघ नेपालको पनि अधिवेशन छ।
यस्तै, राष्ट्रिय युवा संघ नेपाल दार्चुला जिल्लाको ८औं जिल्ला अधिबेशनबाट मुकेश पालको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत गठन भएको छ।