धनगढी: सुदूरपश्चिम प्रदेशमा दसैं, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका नौं वटै जिल्लामा लागु गर्नका लागि सुरक्षा योजना बनाइएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रविन्द्र केसीका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर थप चार हजार प्रहरी परिचालन गरिने भएको छ। `चार्ड पर्वमा हुनसक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गरेका छौं,´ उनले भने, `चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन्। हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौं । त्यसका लागि सामान्य समयकोभन्दा थप चार हजार प्रहरी परिचालन गरेका छौं।´
उनका अनुसार दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको छ बने विगतका वर्षमा चाडपर्वको अवधिमा हुने अपराधीक गतिविधिलाई पनि विश्लेषण गरिएको छ।
डिआइजी केसीले दसैं, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ। `यो अवधिमा आवागमन धेरै हुने भएकोले ट्राफिक व्यवस्थापनमा पनि हामीले जोड दिएका छौं,´ उनले भने, `प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमा समेत रणनीति तयार पारेको छ।´