धनगढी: भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका नाकाबाट हुने आवागमनलाई सहज बनाउने सहमति भएको छ। दुई जिल्लामा रहेका त्रिनगर, खक्रौला र गड्डाचौकी नाकामा आवागमनलाई सहज पार्ने सहमति दुई देशका सुरक्षा अधिकारीबीच भएको हो।
भारतको गौरीफन्टामा बसको दुवै देशका सुरक्षा अधिकारीको समन्वयात्मक बैठकले यस्ताे सहमति गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले आवागमनमा सहजीकरण गर्ने सहमति भएको जानकारी दिए ।
‘विगतमा चाडपर्वको समयमा नेपालीहरू सीमा नाकामा लुटिने समस्या थियो,’ एसपी पाण्डेले भने, ‘यसपटक सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा सुरक्षा बलले सहजीकरण गर्ने सहमति भएको छ। राति ८ बजे भन्सार कार्यालय बन्द भए पनि भन्सार लाग्ने सामान साथमा नभए आवतजावत गर्न दिने पनि सहमति भएको छ।’
बैठकमा दुवै देशका सुरक्षा निकायबीच खबर आदानप्रदान गर्ने, सीमा इलाकामा संयुक्त गस्ती गर्ने, सीमा स्तम्भको सुरक्षा गर्ने तथा सीमाक्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति पनि भएको पाण्डेले बताए।
यस्तै, अवैध रूपमा खोटा अपचलन, अवैध हातहतियार, सामान, लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने पनि सहमति भएको छ।