धनगढी: कैलालीमा नेपाल प्रहरीका सादा पोसाकका प्रहरी (घुमुवाहरु) ह्वात्तै बढाइएको छ। चाडपर्व सुरु हुँदै गर्दा जिल्लाका विभिन्न स्थानमा घुमुवा प्रहरीहरु ह्वात्तै बढाइएको हो।
स्रोतका अनुसार अहिले घुमुवाहरु थपेर १ दर्जन बढी पुगाइएको छ। घुमुवाहरुको सँख्या एकाएक बढाइएपछि प्रहरीभित्र आर्थिक रुपमा गैरव्यवसायिक गतिविधि बढ्ने अनुमान पनि गरिएको छ।
हालैमात्र एक बदनाम असईलाई डडेल्धुराबाट काजमा कैलाली ल्याएर घुमुवा खटाइएको पाइएको छ। असई राजेश चौधरीलाई प्रदेश प्रहरी कार्यालयले काजमा कैलाली ल्याएकोमा कैलाली प्रहरीले पूर्वी क्षेत्रको घुमुवाको रुपमा पठाएको हो।
स्रोतका अनुसार एक नेताको सिफारिसमा चौधरीको काज गरिएको थियो। काजमा आएका उनी विवादित प्रहरी कर्मचारी हुन्।
अहिले उनैलाई घुमुवा पठाइएकोमा प्रहरीभित्रै विरोध भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी रविन्द्र केसीले पनि चौधरीको काज भएको पुष्टि गर्दै घुमुवा पठाइएको विषय जानकारीमा नरहेको बताए।
उनले घुमुवा खटाइएको विषयलाई आफूले बुझ्ने पनि जनाए। पछिल्लोसमय प्रहरीका मधेस प्रदेशदेखि अन्य प्रदेश तथा जिल्लाका घुमुवाहरु गैरव्यवसायिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ। त्यसमा प्रहरी प्रधान कार्यालयले बेलावखत छानबिन गरिरहेको बताएको छ।