अछाम: नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि अछाममा नेताकार्यकर्ता आन्दोलित भएका छन्। आइतबार बसेको एमाले सचिवालय बैठकले नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
सोही निर्णय फिर्ता लिन माग गर्दै साँफेबगरमा नेता रावल पक्षका नेताकार्यकता आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले नेता रावलको पक्षमा नाराबाजी गरेका थिए।
उनीहरुले ‘भगौडा नेता मुर्दाबाद, भीम रावलको स्पष्टिकरण फिर्ताले, प्रदेशको विज्ञप्ति खारेज गर, भीम रावल जिन्दाबाद’, भन्दै नाराबाजी गरेका थिए। लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई आइतबारको सचिवालय बैठकले स्पष्टीकरण सोधेको थियो।
साथै साँफेबगर नगर कमिटी तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु र जिल्ला कमिटीका सदस्यहरुको बैठकले प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले नेता रावललाई दिएको चेतावनीको पनि खेद प्रकट गरेको छ।