धनगढीः हनी ट्रयापिङमा संलग्न गिरोहसंग मिलेर पैसा असुल्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीको खोजी कार्य जारी छ। शाहीको खोजीका लागि ललितपुर प्रहरीले उनको स्थायी ठेगाना रहेको कालीकोटस्थित जिल्ला प्रहरी कार्यालयमा पनि पत्राचार गरेको हो।
शाहीले भने पक्राउ अनुमति जारी भइसकेको अवस्थामा महेन्द्रनगर पोष्टका सम्पादक टेकसिंह धामीको फेसबुकमा कमेन्ट गरेकी थिइन्। उनी फरार भएको भन्दै लेखिएको स्टाटसमा उनले म यतै छु भन्दै कमेन्ट लेखेको भेटिएको थियो। उक्त विषयलाई पनि नोटिसमा लिएर खोजी गरिरहेको ललितपुर प्रहरी स्रोतले बतायो।
ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी अहिले फरार छिन्। उनी यस अगाडि गृहमन्त्रालयबाट निलम्बित पनि भएकी थिइन्।
धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन्। सो उजुरीको आधारमा इन्स्पेक्टर शाहीले ललितपुरको लुभु बस्ने घरजग्गा व्यवसायीलाई बोलाएर छलफल गराएकी हुन्।
ती व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दारसहित ४ जना थुनामा छन्।
थुनामा हुनेमा सुस्मा विक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवल्दार महेन्द्र हमाल छन्। सहायक हवल्दार इन्स्पेक्टर शाहीको सवारी चालक हुन्। घट्नामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन्। उनीहरुविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ।
ललितपुरको साना गाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।