काठमाडौँ:अस्ति जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की तानिए। उनलाई तानेर त्यहाँ एसपी राजन लिम्बुको काज गरियो। तर लिम्बु त्यहाँ गएनन्। त्यसपछि काज नै रद्द गरियो। र, त्यहाँ अहिले प्रहरी प्रमुखमा एसपी नारायण प्रसाद चिमोरियाको काज गरेर पठाइएको छ।
उता प्रहरी प्रधान कार्यालय नक्साल तानिएका एसपी भने झमेला पनि तानिएका छन्। उनी छानबिनको दायरामा तानिएका हुन्।
नक्साल स्रोतका अनुसार उनीमाथि आर्थिक अनियमितताको आरोपमा छानबिन जारी छ। आर्थिक अनियमितताको विवाद आएपछि उनलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको हो।
२०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका हुन्। उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ। क्रिप्टोको कारोबारीको सूचना लिएर पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले २२ लाख रकम बुझेको आरोप छ।
क्रिप्टो कारोबार गर्नेसँग रकम बुझ्न उनले जिप्रकामा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराईलाई पठाएको प्रदेश प्रहरी कार्यालयले गरेको प्रारम्भिक छानबिनबाट थाहा भएको छ। छानबिनका लागी निगरानीमा राखिएका इन्स्पेक्टर भट्टराईले आफूले रकम लिएर कार्कीलाई बुझाएको ‘साबिति बयान’ दिएका छन्।
घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले बताए। अहिले छानबिन चलिरहेको खापुङको भनाई छ।
छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको छ।
घटना बाहिरिएसँगै छानबिन गर्न गठित समितिले एकजना बिचौलियाबाट ३ लाख रुपैयाँ बरामद गरेको थियो। सो रकमबारे पनि अनुसन्धान भइरहेको बताइएको छ।
र, यो पनि: एसपी कार्की तानिए, लिम्बु मोरङ हानिए