धनगढी: धनगढीका विभिन्न स्थानमा प्रहरीकै सेटिङमा जुवाखालहरु चल्ने गरेको आरोप लाग्दै आएको छ। उसो त सेटिङमात्र होइन, प्रहरीकै कार्यालय, गेष्टहाउस तथा ब्यारेकभित्र पनि बेलाबखत जुवा भैरहन्छन् भन्ने गरिन्छ।
केही समय अगाडि त धनगढीका ठूला व्यवसायीका होटल तथा राष्ट्र बैंकको गेष्ट हाउसभित्र पनि जुवा हुने गरेको बताइएको थियो। त्यहाँ हुने जुवाहरुमा न कहिले प्रहरी जान्थ्यो, न कतै छापा मारिन्थ्यो अर्थात कुनै रोकटोक थिएन।
हो, यस्तै प्रहरी सेटिङ्वाला मानिने एक जुवाघरमा भने कैलालीका सिडिओले नै छापा हान्न भ्याएका छन्। जबकी उनले प्रहरी परिचालन गरेर पनि छापा हान्न लगाउन सक्थे। तर मध्यरातमा उनले जिल्लाका सुरक्षा निकायका प्रमुखसहित दलबल बोकेर धनगढीको एक ठूलो जुवाघरमा छापा हानेका हुन्।
स्रोतका अनुसार आइतबार राति प्रहरीकै संरक्षणमा वर्षैभरी जुवा हुने भनिएको धनगढी उपमहानगरपालिका वडा नं ५ स्थित हसनपुर प्रकाश भाटको घरमा सिडिओको टोलीले छापा हानेको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मध्यराति त्यहाँ छापा हानेका थिए। प्रकाश भाटको घरमा लाखौँको जुवा हुने गरेको र प्रहरीले छापा नहान्ने गरेको जानकारी पाएपछि सिडिओ मिश्र आफैंले छापा हानेको बताइएको छ।
त्यसपछि छापा हानिएको सो घरमा भैरहेको जुवाखालबाट प्रहरी टोलीले घर मालिकबाहेक ११ जनालाई पक्राउ गरेको जनाएको छ। जसमा १० गड्डी तास र १ लाख ५३ हजार ३ सय ५० नगद बरामद गरेको बताइएपनी केही रकम लुकाएको पनि बताइन्छ। जुवाका क्रममा घरधनी भने घरमा थिएनन्।
उता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भने जुवा तास संरक्षणमा कोही प्रहरीको संलग्नता भएको पाइए कारबाही हुने जनाएको छ। जुवाको मामलामा प्रहरीले घुमुवामार्फत सेटिङ गराउने गर्दछ। जसमा दसैंतिहारको समयमा असुली पनि हुने गरिन्छ।
यी हुन् जुवाडे
१.जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ३ बस्ने बर्ष २४ को रोहित सिजापती
२.ऐ.ऐ.१३ बस्ने बर्ष ४७ को हरि प्रसाद बडायर जैशी
३.ऐ.ऐ.४ बस्ने बर्ष ३४ को रोशन सिंह
४.ऐ.ऐ.१ बस्ने बर्ष ३४ को नबिन लोहनी
५.ऐ.ऐ.बस्ने बर्ष ४१को मकर नेपाली
६.ऐ.ऐ.४ बस्ने बर्ष ३७ को चुडामणी गौतम
७.ऐ.ऐ.१ बस्ने बर्ष ३० को कमल वि.क.
८.ऐ.ऐ.२ बस्ने बर्ष ३१ को अंकित लामीछाने
९.ऐ.ऐ.४ बस्ने बर्ष ३९ को अरुण पाठक
१०.ऐ.ऐ.७ बस्ने बर्ष ३२ को प्रेम चौधरी
११.ऐ.ऐ.बस्ने बर्ष ३३ को सन्तराम राना