काठमाडौं: नेपाल प्रहरीमा दुई डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृहकार्य थालिएको छ। केही दिनमै दुई डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न लागिएको हो।
स्रोतका अनुसार बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्वय बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई बढुवा सिफारिस गर्ने तयारी छ।तर शक्तिकेन्द्रको चलखेलबाट डीआईजी केदार प्रसाद ढकालले पनि बढुवाका लागि कसरत गरिरहेका छन्।
गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने चन्द कोशी प्रदेश प्रहरी कार्यालको प्रमुख छन्। यस्तै हेडक्वाटरको प्रवन्ध महाशाखा हेर्ने ढकाल भने ‘जन्मजात कांग्रेस’ भनेर चिनिन्छ्न्।
यस्तै एसएसपीबाट डीआईजीमा पनि बढुवाको तयारी थालिएकोमा २० प्रहरी उपरीक्षक (एसपी)को पनि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको तयारी जारी छ।
एआइजी, डिआइजी र एसएसपीमा एकैपटक बढुवा निकाल्ने प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच छलफल चलिरहेको जनाइएको छ।
दुई एआइजी, सात डिआइजी, २० एसएसपी तथा ३२ एसपी पदमा बढुवा प्रक्रिया अघि बढेको बताइन्छ। बढुवाको तयारी थालिएसँगै प्रतिस्पर्धा पनि चर्को देखिन्छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर १८ कात्तिकमा इन्टरपोलको सम्मेलनमा भाग लिन बेलायत जाँदै छन्। सहमति जुटेमा त्यसअघि नै एआईजी, डीआईजी, एसएसपी तथा एसपीसम्म बढुवा गर्ने तयारी छ।