धनगढी: २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हाे।
नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन्। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्।
टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए।
समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा रहेको टीकापुर विमानस्थलको धावनमार्गको लम्बाई ५ सय ७३ मिटर रहेको छ ।
माओवादी विद्रोह सुरु भएपछी ०५४ सालपछि टीकापुरमा उडान रोकिएको थियो। त्यसअघि त्यहा नेपाल वायुसेवा निगमको १९ सिटको ट्विनअटरले अछामको साँफेबगरबाट उडान गर्थ्यो।