काठमाडौं: प्रहरी परिसर काठमाडौंले ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ गरेको छ। स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत रमेश खटिकलाई काठमाडौं प्रहरी परिसरको टोलीले समातेको हो।
उनीहरू यही मंसिर १० गते करिब चार ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्। तर अहिले घटना गुपचुप राखिएको छ।
उनीहरू दुवैजना नेपाल प्रहरीका सहायक हवल्दार हुन्। खटिकलाई ब्राउनसुगर बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो। उनले बयानको क्रममा कलिमले आफूलाई बेच्न लगाएको बताएपछि कलिम पनि पक्राउ परेका हुन्।
उनीहरू दुवैजना प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। दुवैजनाको मोबाइल जफत गरेर उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरी स्रोत बताउँछ।
पक्राउ परेको बेहना निरीक्षणालयमा कार्यरत एसपी प्रकाश मल्लनिकट मानिन्छन्।
उनीहरूसँग तत्काल चार ग्राममात्रै ब्राउनसुगर फेला परेपनि अझै ठूलो परिमाणमा भएको हुनसक्ने भन्दै थप अुनसन्धान थालिएको छ।