धनगढी: सुदूरपश्चिमका पहाडी जिल्लाका लागि जीवनरेखा मानिने भीमदत्त राजमार्ग तीन दशकदेखि उपेक्षित छ। तर, अब संघीय सरकारले यस राजमार्गको स्तरोन्नति गर्ने योजना ल्याएको छ। आगामी आर्थिक वर्षको बजेटमा अत्तरिया–खोड्पे–दार्चुला सडक खण्डलाई डेडिकेटेड डबल लेन बनाउने लक्ष्यसहित विस्तृत अध्ययन सम्पन्न गरी स्तरोन्नतिको कार्य सुरु गरिने उल्लेख छ।
राजमार्गको हालको अवस्था भने निकै दयनीय छ। १३५ किलोमिटर लामो यस मार्गको अधिकांश भाग क्षतिग्रस्त छ। कैलाली, डोटी र डडेल्धुरामा क्रमशः ६९, ३३ र ३३ किलोमिटर भाग फैलिएको यो सडक खण्ड वर्षौँदेखि मर्मतकै भरमा चलिरहेको छ। कालोपत्रे कार्य सन् १९९५ (वि.सं. २०५२) मा सम्पन्न भएपछिका तीन दशकमा कुनै ठूला स्तरोन्नति नभए पनि खाल्डा पुर्ने र पटके मर्मतजस्ता अस्थायी उपायमै सीमित हुँदै आएको छ।
राजमार्ग सुधारको चर्चा भने ०१८ सालतिर सुरु भएको थियो। ०२९ सालमा पहिलोपटक डडेल्धुरामा गाडी पुगेपछि सुदूरपश्चिमका पहाड र तराईबीचको आवागमनमा परिवर्तन आएको थियो। तर, यो परिवर्तन स्थायीत्वमा जान कहिल्यै सकेन। पहिरो, कमजोर मर्मत र सीमित स्रोतका कारण सडक झनझन जीर्ण बन्दै गएको छ। विशेषगरी बुढीतोला क्षेत्रमा आएको पहिरोले त झण्डै तीन सय मिटर सडक नै बगाएको थियो। अहिले त्यस क्षेत्रको मर्मतका लागि ६ करोड ६० लाखको ठेक्कामार्फत निर्माण कार्य भइरहेको छ।
हाल कुलपाते डोटीस्थित सडक डिभिजन कार्यालयले डोटी र डडेल्धुरा खण्डको जिम्मेवारी लिएको छ। कार्यालयका अनुसार सहजपुरदेखि फल्टुडे खण्डमा केही आवधिक मर्मत भए पनि अन्य क्षेत्रमा भने सडकको अवस्था चिन्ताजनक छ।
भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने एक मात्र विकल्प भएकाले यसले लिएको नयाँ मोडप्रति सर्वसाधारणको चासो बढेको छ। यद्यपि, सरकारको योजनामा बजेटको स्पष्ट उल्लेख नभएकोले कार्यान्वयनप्रतिको आशंका भने कायमै छ। स्थानीयवासी र सरोकारवालाहरूले योजनालाई यथाशक्य चाँडो कार्यान्वयनमा लैजान आग्रह गरेका छन्।