काठमाडौं: नेपाल प्रहरीका एसपी र इन्सपेक्टरसमेत जोडिएको हनिट्र्याप घटनामा सीआईबी पसेको छ। सो घटनाको अनुसन्धानको जिम्मेवारी सीआईबी (केन्द्रिय अनुसन्धान व्युरो) ले पाएको हो।
ललितपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारी ३० लाख रुपैयाँ असुल गर्ने गिरोहमाथिको बृहत्तर अनुसन्धान अब सीआईबीले गर्ने जनाएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार, हनी ट्रयापको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले बुधबार उक्त प्रतिवेदन सीआईबीलाई बुझाएको छ।
हनी ट्रयापको घटना अनुसन्धान गर्न एक टोली बनाइएको र काम थालिसकेको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
अनुसन्धानको क्रममा प्रहरीका एसपी कमल थापा नै मुछिएको र सो गिरोहले अन्यत्र समेत त्यसैगरी प्रहरीसँग मिलेर फसाउँदै आएको खुलेपछि सिआइबीले अनुसन्धान अघि बढाएको हो।
गएको असोज ६ गते सुनसरीको इटहरीका ताज स्लाम र दर्शन पोखरेलले युवतीको प्रयोग गरी एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गर्ने योजना बनाएका थिए। योजना अनुसार, उनीहरू युवतीसहित इटहरीबाट ललितपुरको भैँसेपाटी आएका थिए।
ती व्यवसायीबाट रकम असुल गर्न उनीहरूले प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख एवं इन्स्पेक्टर बिनुकुमारी शाहीलाई समेत प्रभावमा पारेका थिए। ललितपुर प्रहरीले उक्त सूचना पाएपछि असोज ९ गते ताज र युवती सुष्मा विकलाई नियन्त्रणमा लिएको थियो। दर्शन पोखरेल भने फरार भएका थिए।
ललितपुर प्रहरीले पछि अनुसन्धानका क्रममा थप एक युवती भीमाकुमारी थापा र प्रहरी निरीक्षक शाहीका सवारीचालक महेन्द्र हमाललाई समेत नियन्त्रणमा लिएको थियो। निरीक्षक शाहीमाथि समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई पक्राउ गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट अनुमति लिएको थियो।
अर्कोतर्फ सो गिरोहले दरबारमार्ग वृत्तमा समेत ठेकदार विदुर शर्मालाई त्यसैगरी फसाएको खुलेको छ। यसरी धेरैतिर घटना देखिएपछि ललितपुर परिसरले नै सिआइबीमार्फत अनुसन्धानको प्रस्ताव गरेको स्रोत बताउँछ।
र, यो पनि: निलम्बित इन्सपेक्टर प्रकरण: दसैं अगाडि पूर्जी, तिहार आइसक्दा पनि फरारै कसरी ?