काठमाडौं: ‘हनी ट्रयाप’ प्रकरणमा फरार रहेकी ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख एवं ‘विवाद क्विन’ इन्स्पेक्टर बिनुकुमारी शाही अझै पक्राउ परेकी छैनन्। जिल्ला अदालत ललितपुरले दसैं अगाडि नै उनलाई पक्राउ गर्न पुर्जी जारी गरेपनि अझै उनी नसमातिएकी हुन्।
ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गर्न खोजेको खुलेपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो।
ललितपुर प्रहरीको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरसँग पक्राउ अनुमति मागेको थियो।
तर अदालतले पक्राउ अनुमति दिए पनि उनलाई पक्राउ भने गरिएको छैन। दसैं अगाडि पूर्जी आएकोमा तिहारसम्म आइपुग्दा पनि उनलाई फरार नै बनाइएको छ।
अहिले प्रहरीले उनीमाथि ‘हनी ट्रयाप’ घटनालाई संगठित अपराध मुद्दामा रुपान्तरण गरेर अनुसन्धान अघि बढाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले इटहरीकी सुष्मा विक, भीमाकुमारी थापा, ताज स्लाम र भैँसेपाटी प्रमुख हुँदा इन्स्पेक्टर शाहीकै सवारी चालक प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ। उनीहरू एक महिनाअघिदेखि प्रहरीकै थुनामा छन्। प्रहरी स्रोतका अनुसार उनी काठमाडौंमै बसेको दाबी छ।
प्रहरी स्रोतका अनुसार उनी केही प्रहरी अधिकारी र गृह मन्त्रालयकै संरक्षणमा छिन्। ललितपुर प्रहरीले भने शाहीको खोजी कार्य जारी रहेको जनाएको छ।
शाहीकै योजनामा ललितपुरकै एक व्यवयासीविरुद्ध बलात्कारको उजुरी दिने भन्दै ३० लाख असुल गरेर उनीहरूले छाडेको खुलेको थियो।
यहीँ समूहले एसपी कमल थापासहितलाई मिलाएर दरबारमार्ग प्रहरीमा पनि दोलखाका विदुर शर्मामाथि परेको बलात्कार घटनामा समेत हनी ट्रयापमा पारेर रकम असुल गर्न बलात्कारको उजुरी दिएको खुलेको छ।
सरकारी वकिल कार्यालयले एसपी थापाको पनि बयान गर्न निर्देशन दिएको छ।
तर, इन्सपेक्टरलाई फरार बनाएर एसपीलाई जोगाउन एक समूह लागिरहेको स्रोत बताउँछ। संगठित अपराधको कसुर भएकाले यसमा सघाउनेहरु समेत तानिने सम्भावना छ। उनीमाथि पनि छानबिन जारी छ। उनलाई अख्तियारको केन्द्रीय कार्यालयबाट यस अगाडी नै हेडक्वाटर तानिएको थियो।
सामाजिक सञ्जालमा सक्रिय, कसरी फरार ?
शाही सामाजिक सञ्जालमा भने सक्रिय देखिएकी छिन्। शाहीविरुद्ध पक्राउ पुर्जी भएपछि उनी फरार रहेकै अवस्थामा सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय रहेको खुलेको हो।
शाहीले केही दिन अगाडि एउटा पोस्ट राखेकी थिइन् भने आज (सोमबार) दिउँसो पनि पोष्ट राखेकी छिन्।
उनले पोष्ट गरेको तस्बिरमा ‘Your value doesn’t decrease based on someone’s inability to see your worth. ‘क्याप्सन राखेकी छिन्।
केही दिन अघि गरेको पोष्टमा भने एक पुस्तकको कभरका साथमा ‘Healing doesn’t mean the damage never existed, it means the damage no longer controls our lives.’ पोष्ट गरेकी थिइन्।
शाहीसहितको समूहले ललितपुरका एक व्यवसायीबाट असोज ६ गते बलात्कार मुद्दामा फसाउने भन्दै भैंसेपाटी प्रहरी प्रभागमा लगेर बार्गेनिङ गरेका थिए। घटनालगत्तै प्रहरी प्रधान कार्यालयले शाहीलाई रानीपोखरी तानेर निलम्बन गरेको थियो। त्यसपछि पक्राउ पूर्जी जारी भएकोमा हाल उनी फरार भएको बताइन्छ।
यसैक्रममा प्रहरीले इन्सपेक्टर शाहीलाई भने पक्राउ गर्न चासो नदिएको आरोप लागेको छ। फरार अवस्थामै उनी पत्रकार तथा पीडित लगायतलाई धम्काउने गतिविधिमा सक्रिय छिन्।
इन्सपेक्टर शाहीले गिरोहका नाइके इस्लामको मोबाइल समेत प्रहरी कार्यालयबाट गायब बनाएको जनाइएको छ। सो मोबाइलमा इन्सपेक्टर शाहीदेखि माथिल्लो तहका प्रहरीसँगको उनको कुराकानीहरु थिए।
नेपाल प्रहरीले निवर्तमान गृहमन्त्री रवि लामिछाने समातेर हिरासतमा राखेकै बेला निवर्तमान गृहमन्त्रीलाई पक्राउ गर्न सक्ने प्रहरीले आफ्नै एक इन्सपेक्टरलाई भने गम्भीर मुद्दामा पक्राउ नगरेको भन्दै आलोचना भएको छ। शाहीलाई पक्राउ नगर्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ।
खुलेआम रहेकी शाहीलाई पक्राउ गर्न प्रहरीले चासो नदिएपछि कतै प्रहरी संगठन नै उनलाई जोगाउन लागेको त होइन भन्ने प्रश्न समेत उठेको छ।