काठमाडौं– आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले जारी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिका लागि परिचय खुल्ने कागजातका आधारमा पनि मतदान गर्ने व्यवस्था मिलाएको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिका लागि सहजता ल्याउन परिचय खुल्ने आधिकारिक कागजातका आधारमा पनि मतदान गर्ने व्यवस्था मिलाएको हो ।
आयोगले गरेको व्यवथाअनुसार मतदाताले निर्वाचन आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
आयोगले बुधबार एक सूचना जारी गर्दै व्यक्तिका परिचय खुल्ने प्रमाणलाई आयोगद्वारा जारी अन्तिम नामावली विवरणसंग भिडाई यकिन गरि मतदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।