धनगढी: डडेल्धुराको परशुराम नगरपालिका-९ नौलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिका-९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका-७ की ३८ वर्षीया धनादेवी बुढा रहेका छन्।
उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी ९ जना घाइते भएको जनाइएको छ। घाइतेको भने महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडातर्फ गइरहेको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुर र डडेलधुराको सीमा नजिकै नौलामा मंगलबार दिउँसो दुर्घटना भएको थियो। जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ। चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।