काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए।
मंगलबार गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताए हुन्।
उनले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, न्यायको प्रत्याभूति दिलाउन र विकासमैत्री वातावरण सिर्जना गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए।
गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्नुपर्नेमा उनले जोड दिए।
स्थानीय तहको उपनिर्वाचनमा विगतमा सामना गरिएका सुरक्षा चुनौतिहरू तथा जोखिमहरूको बिश्लेषण गरी सुरक्षा योजना निर्माण तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशनसमेत दिए।