काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज दिउँसो काठमाडौं आइपुग्दै छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउन लागेका हुन्।
उनी दिउँसो एअर इण्डियाको उडान नम्बर एआई २१५७ मा नयाँ दिल्लीबाट दिउँसो २ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा नेपाली समकक्षी सिग्देलसँग औपचारिक भेटवार्तासँगै राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्रीसँग भेट गर्ने र शीतल निवासमा मानार्थ सेनापतिको पदवी बुझ्ने तालिका छ।
भारतीय सेनाध्यक्ष मुक्तिनाथ दर्शन जाने कार्यक्रम पनि तय गरिएको छ। उनी नेपाल भ्रमण पूरा गरेर आगामी आइतबार बिहान पौने १० बजे भुटान एअरलाइन्सको उडानमा नयाँ दिल्ली फर्कने भ्रमण बनेको छ।
यसअघि सेनाध्यक्ष सेनाकै जहाजमा आउने चलन थियो।
नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहँदै आएको छ। उनी सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्न र अन्य सैन्य स्थलहरूको भ्रमण पनि गर्ने नेपाली सेनाले जनाएको छ।
नेपाल र भारतबीचका क्षेत्रीय विवाद, विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेकका विवादित क्षेत्रहरूलाई लिएर तनाव बढेको बेला द्विवेदीको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।