धनगढी: डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। हिजो मंगलबार पर्शुराम नगरपालिका ९ नौलास्थित दैजि जोगबुढा सडक खण्डमा पर्शुराम यातायातको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।
सो जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित १४ जना मध्ये पर्शुराम नगरपालिका ११ सलेता बस्ने वर्ष ४० की मोतिदेवी सार्की र आलिताल गाउँपालिका ७ थली बस्ने वर्ष ३८ की धना देवी बुढाको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै प्रहरीका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिका ११ सलेता बस्ने वर्ष २८ की पुष्पा भट्ट, निजकै छोरा वर्ष ८ को अनुपम भट्ट, वर्ष ४ को कृष्ण भट्ट, सोही ठाउँकी वर्ष ५० की पार्वती धामी, वर्ष ३० को डम्बर धामी, वर्ष १९ को खेमराज भट्ट, वर्ष ४३ को अम्मरबहादुर सार्की, निजकै नाति वर्ष ६ को रमित सार्की, सोही ठाउँकी वर्ष ४४ की जानकी महरा र निजकै छोरी वर्ष १३ की प्रतिभा महरा घाइते भएका छन्।
उनीहरूको कैलाली तथा कञ्चनपुरस्थित बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको र जिप चालक जिल्ला पर्शुराम नगरपालिका ११ एक्लेगडा बस्ने वर्ष २१ को भुपाल कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।