काठमाडौं: नेपाल प्रहरीमा महानिरीक्षकका नाममा घुमुवा परिचालन गरेको विषयले एक जना एसपी छानबिनमा तानिएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमै कार्यरत एक एसपीले आईजीपीसा’बका घुमुवा भन्दै अवैध रुपमा घुमुवा परिचालन गरेपछि छानबिन थालेर कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
उजुरी छानविन शाखामा कार्यरत एसपी प्रकाश मल्लले आइजीका नाममा घुमुवामार्फत असुली पनि गरेको बताइएको छ। उनीमाथि छानबिन थालिएपनि कारबाही भने गरिएको छैन।
उनले परिचालन गरेका घुमुवाहरू विभिन्न काण्डमा मुछिएपछि वास्तविकता बाहिर आएको हो। जसमा हवल्दार रामविश्वास यादब १५ लाख बार्गेनिङ प्रकरणमा तानिएका थिए।लामो समयदेखि पर्सामा काम गरेका यादबविरुद्ध उजुरी बढेपछि छानविनमा तानिएको थियो।
उनीमाथि छानविन गर्ने एसपी उनै मल्ल थिए। तर, मल्लले प्रभावमा परेर यादबलाई कारबाहीको साटो उल्टै सिआइबीमा खटाएका थिए।
सिआईबीमा बिदा मिलाएर यादब असुली धन्दाका लागि वीरगञ्ज पुगेका थिए। त्यहाँ यातायात व्यवस्था कार्यालयका प्रमुख धर्मेन्द्र कर्णसँग १५ लाख मागेको उजुरीपछि फेरि उनी छानविनमा तानिएकक हुन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसपी मल्लले यसरी दर्जन बढी घुमुवालाई खटाएको बताइन्छ। ती घुमुवाहरु अवैध गतिविधिमा संलग्न थिए।
जसमध्ये मल्लले खटाएका एक हवल्दार कलिम बेहना गत ११ कात्तिकमा लागुऔषधसहित काठमाडौंमा पक्राउ परेका थिए।
यसबाहेक उनले महोत्तरीमा ९ बर्षदेखि कार्यरत हवल्दारहरु धर्मेन्द्र यादव र राजेश यादवलाई पनि संरक्षण दिदै आएको स्रोत बताउँछ।
मल्लले तराईका हरेक जसो जिल्लामा यसैगरी घुमुवामार्फत असुली चलाएको बुझिएको छ।