काठमाडौं: चीन र नेपालवीच लामो समयदेखि रोकिएर रहेकोे बेल्ट एण्ड रोड सहायता परियोजनाको कार्यान्वयन सम्झौतामा दुई देशका परराष्ट्र सचिवहरुले हस्ताक्षर गरेका छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई)बाट नेपालले लाभ लिने बताएका थिए। बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको उल्लेख गरेलगत्तै सम्झौताका कतिपय अस्पष्ट बुँदामा सहमति जुटेर सम्झौतामा हस्ताक्षर हुन सकेको हो।
राष्ट्रपति सि चिनफिङको दूरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास प्रधानमन्त्री ओलीले लिए। उनले आगामी वर्ष सन् २०२५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा उच्चस्तरीय भ्रमण आदानप्रदान हुने भएकाले त्यसबाट पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए।
प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिनसक्ने उल्लेख गरे। प्रधानमन्त्रीलाई विश्वविद्यालयका अध्यक्ष प्रा. गोङ छिहुङले स्वागत गरेका थिए।