काठमाडौं: नेपाल प्रहरीमा एसएसपीबाट डीआइजी पदमा पदोन्नति भएका ८ जना डीआइजीहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्दै निर्देशन दिइएको छ। नेपाल सरकारको गृहमन्त्रीस्तरको मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जनालाई प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको हो।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। यस्तै उनले नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिए।