काठमाडौँ: रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट निर्वाचित कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा माननीय एवं सरकारका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको मुद्दाको आज सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गठन गरेको संवैधानिक इजलासमा उनको मुद्दाको पेशी आज तोकिएको छ।
इजलासमा प्रधान न्यायाधीश राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा छन्।चौधरीविरुद्धको यो मुद्दामा निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको छ।
नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद चौधरीलाई पदबाट निलम्बन गर्न उक्त रिटमा माग गरिएको छ। रिटमा निर्वाचनको समयमा उनीमाथि कुनै पनि फौजदारी अभियोग नभएको र कैदसमेत नबसेको खुलासा भएकाले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरिएको छ। यो निर्वाचनको समयमा कसुर लिएका र निर्वाचित भएको भनी नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी विरुद्धको रिट हो।
सांसद चौधरी यो मुद्दामा २०७९ माघमा पक्राउ परेका थिए। प्रहरीले उनलाई जिल्ला अदालत कैलालीमा बुझाएपछि अदालतले कारागार चलान गरेको थियो। तर उनी २०७९ फागुन ७ गते राष्ट्रपतिबाट माफी पाउँदै रिहा भएका थिए।
आगजनी मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेको फैसला कार्यान्वयन बाँकी रहेको देखिएपछि प्रहरीले उनलाई बाँकेबाट पक्राउ गरेर कैलाली कारागार बुझाएको थियो। अदालतले उनलाई ट्याक्टर आगजनीको मुद्दामा २०७० सालमा दोषी ठहर गर्दै सजाय सुनिाएको थियो।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाइँले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरुद्ध मुद्दा दायर गरेका थिए। ट्याक्टरमा आगजनी गरेको कसुरमा कैलाली जिल्ला अदालतले २०७० सालमै उनीलगायत ३ जनालाई बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।
कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र वीरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो। उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो।
२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। तर उनीहरू फरार भएका थिए। उनी २०७९ वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
र, यो पनि: कैलालीका पूर्वअपराधी, कालोसूचीमा रहेका अरुणसहित ३ मन्त्री नियुक्त