कैलाली– सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेशका ९ वटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
प्रदेश निर्वाचन कार्याललयका निमित्त प्रमुख प्रेमराज भट्टले प्रदेशका सबै मतदान केन्द्रहरुमा आवश्यक सामग्रीसहित कर्मचारीहरु मङ्गलबार नै खटिसकेका बताए । उनले मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले बिहीबार (आज)सम्म मतदाता परिचयपत्र वितरण, निर्माणको कार्य गर्ने बताए ।
स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम अन्तिम चरणमा छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ ।
प्रत्येक मतदान केन्द्रमा स्वयंसेवक खटिएका छन् । उनीहरुले मतदाता परिचय पत्र वितरणका साथै मतदाताहरुलाई मतदान गर्ने तरीकाका बारेमा समेत सिकाउने छन् ।