काठमाडौँ: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अवकाशमा गएका छन्। प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश पाएका हुन्।
उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए। एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन्। प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएपछि अवकाशमा जान्छन्। नेपाल प्रहरीका अर्का एआईजी भीमप्रसाद ढकाल पनि यसै महिना अवकाशमा जाँदै छन्।
२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका ढकाल मङ्सिर २७ मा अवकाश हुँदैछन्।
उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्य पनि अर्को महिना अवकाशमा जान लागेकी छन्। उनी पुस १५ मा उमेर हदले अवकाशमा जाने भएकी हुन्।
उता भीम ढकालको अवकाशसँगै प्रहरीमा दुई वटा एआईजीको दरबन्दी रिक्त हुनेछ। रिक्त दरबन्दीमा दुई जना डीआईजीलाई बढुवा गर्ने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ।
जसमा दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा पर्ने बताइएको छ।
र यो पनि: डीआईजीद्वय चन्द र बोहरालाई एआईजी बनाउने तयारी