काठमाडौं: नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन छन्। उनीहरूलाई बढुवा भएको एक हप्ता बढी हुदा पनि जिम्मेवारी दिइएको छैन।
स्रोतका अनुसार भोलि उनीहरूले जिम्मेवारी पाउने छन्। गत १६ मंसिरमा सरकारले ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई डीआईजीमा बढुवा गरेको थियो।
अब उनीहरूको पदस्थापन र केही प्रदेशका डीआईजी (प्रमुखहरू) को जिम्मेवारीसमेत हेरफेरको तयारी भइरहेको छ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्र रिक्त छ भने उपत्यका ट्राफिकको नेतृत्व केही सातापछि रिक्त हुँदैछ। यसैक्रममा रिक्त पदमा गण्डकी प्रदेशकी डीआईजी दुर्गा सिंह चन्द र उपत्यका ट्राफिकका भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गर्ने तयारी पनि छ।
त्यसकारण उनीहरूको बढुवाले रिक्त हुने स्थानमा डीआईजीलाई पठाउनेबारे पनि छलफल भइरहेको स्रोत बताउँछ।
एआईजी केदार ढकालले शुक्रबार अवकाश पाइसकेका छन् भने अर्का एआईजी भिम ढकालले बिहीबार अवकाश पाउँदैछन्।
यता असारदेखि नै प्रहरीमा एसएसपीका पद रिक्त रहेकोमा अहिलेसम्म बढुवा हुन सकेको छैन । हाल एसएसपीका २० दरबन्दी रिक्त छन् । तर प्रतिस्पर्धी ३८ जना भएकाले त्यसमा पनि सहमति हुन नसकेको स्रोत बताउँछ । एसएसपी बढुवाको समितिमा गृहसचिव अध्यक्ष हुने प्रावधान छ ।
यस्तै सशस्त्र प्रहरीमा अवस्था झन् बेहाल छ। सशस्त्रमा डीआईजीका दुई पद रिक्त भएको तीन महिना नाघिसकेको छ। तर राजनीतिक चलखेल हुँदा बढुवा प्रक्रिया रोकिएको छ।
सशस्त्रमा डीआईजीको बढुवा रोकिँदा तल्लो तहसम्मै त्यसको असर परेको बताइन्छ ।