काठमाडौँ: नेकपा एमाले बझाङका नेता ऐन महरसँग गोप्य सम्बन्ध रहेको बताउने रश्मिला कुमारी धामीलाई अनेरास्ववियुकी नेतृले कुटपिट गरेकी छन्। आफूलाई महरले बलात्कार गरेको आरोप लगाउने रश्मिलाले कारबाहीको माग गर्दै आएकी छन्।
उनले त्यसका लागि आन्दोलन तथा प्रदर्शन गर्दै आएकी छन्। यसैक्रममा ऐनसँग राम्रो सम्बन्ध रहेकी अनेरास्ववियुको नेत्री रक्षा बम (राजमती) ले रश्मिलालाई कुटेको आरोप लागेको छ।
न्यायको खोजीमा लामो समयदेखि भौँतारिरहेकी रश्मिलालाई मङ्गलवार आमरण अनसन स्थलमा रक्षाको टोलीले प्रहरीको सामुन्ने नै आक्रमण गरेको हो। रक्षा पनि ऐन र रश्मिला विवादमा जोडिएकी पात्र हुन्।
नेता महरले पार्टी भित्रका कयौँ महिलाहरूलाई यौन शोषण गर्दै आइरहेको आरोपसमेत रश्मिलाले लगाइन्। उच्च अदालत पाटनमा विगत डेढ वर्षदेखि ऐन महरविरुद्धको जबरजस्ती करणी मुद्दा चलिरहेको छ। रश्मिलाले न्यायमा ढिलाइ भएकाले आफू आमरण अनसनमा बस्न बाध्य भएको बताएकी छन्। यसअघि उनले न्याय नपाएको भन्दै आत्मदाह गर्ने प्रयास गरेका थिइन्। त्यसबेला उनी पक्राउ परिन तर पछि छुटेकी थिइन्।
यता सिंहदरवार प्रहरीले भने माइतीघरमा रक्षा र रश्मिलाको झगडा भएपछि नियन्त्रणमा लिइएको र छलफल गराई सहमति गराएको जनाएको छ। प्रहरीले उनीहरू अहिले नियन्त्रणमा भने नरहेको जनाएको छ।