धनगढी: डडेल्धुराको परशुराम नगरपालिकामा भ्रष्टाचार मौलाएको आरोप लागेको छ। विभिन्न राजनीतिक दलले सो आरोप लगाएका हुन्।
पालिकामा सञ्चालन भैरहेका विकास निर्माण एवम् सुशासनका समस्याबारे विभिन्न चार राजनीतिक दलले प्रश्न गरेका छन्। बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेकपा एमालेका नगर अध्यक्ष ओमप्रकाश जोशी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शेरसिंह माल डाइमण्ड, रास्वपाका नगर सभापति लालबहादुर थापा र राप्रपाका प्रदेश कमिटी सदस्य पदमराज जोशीले जारी गरेको विज्ञप्तिमा नगरपालिकाले निर्माण गरिरहेका विकास निर्माण एवम् पालिकामा आन्तरिक खरिद प्रकृयामा समेत पारदर्शिताको कमी भएको उल्लेख छ।
उनीहरुले नगरपालिकामा भइरहेका फजुल खर्चहरु तत्काल रोक्न र राजनितक दल, व्यापारी, यातायात व्यवसायी, जनताप्रति नगरको हेर्ने दृष्टि तत्काल सुधार गर्न समेत माग गरेका छन्।
आफूहरुले दिएका सुझावको बेवास्ता गरेको खण्डमा थप संर्घषका कार्यक्रमहरु गर्न बाध्य हुनेसमेत उनीहरुले चेतावनी दिएका छन्।