काठमाडौँ: सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सीमावर्ती तीन प्रदेशका डिआइजीलाई मुख्यालय हल्चोकमा तानेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका डिआइजीलाई सीमा सुरक्षा विभाग प्रमुख सिपी गौतमसमक्ष उपस्थित गराइएको छ। सीमा सुरक्षामा समस्या देखिएको र व्यवसायिकतामा प्रश्न उठेकी भन्दै उनीहरू तानिएका हुन्।
जसमध्ये कोशी प्रदेशका डिआइजी शम्भु सुवेदी व्यक्तिगत कामका लागि भन्दै अमेरिका गएका छन्। उनी अनुपस्थित रहेपछि निमित्तको रूपमा जिम्मेवारी सम्हालिरहेका एसएसपी मनिष थापालाई पनि मुख्यालयमा झिकाइएको छ। अविवाहित थापा खानपिनमा रसिक र अनुशासित व्यक्तित्वका रूपमा चिनिन्छन्।
मधेश प्रदेशका डिआइजी कालिदास धौबजी पनि मुख्यालय हल्चोकमा तानिएका छन्। लुम्बिनी प्रदेशका डिआइजी प्रदीपकुमार पाललाई पनि मुख्यालयमा हाजिर गराइएको छ। प्राविधिक क्षेत्रबाट आएका पालको नेतृत्वमा काम गरिरहेका कर्मचारीहरूका अनुसार त्यहाँ एसएसपी कमलप्रसाद तिम्सिनाको प्रभाव बढी रहेको छ।
नाका रहेका यी प्रदेशमा तस्करी बढी हुने भएकाले प्रहरी, सशस्त्र र सुरक्षाकर्मीको व्यवसायिकता भने कम हुने अनुमान गरिएको छ।